काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ। बैठक सिंहदरबारस्थित संसद भवनमा आह्वान गरिएको हो।
प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर संसद अवरोध गर्दै आएकाले आजको बैठक पनि प्रभावित हुने सम्भावना देखिएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसदको रोष्ट्रमबाट माफी नमागेसम्म सदन चल्न नदिने अडान कायम राखेका छन्।
विपक्षीको अवरोधका कारण लामो समयदेखि संसदको नियमित कार्यसूची प्रभावित हुँदै आएको छ। आजको बैठकमा पनि यही विषय प्रमुख चुनौतीका रूपमा देखिएको छ।
बैठकको सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। साथै, उहाँले वक्तव्यसहित आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।
त्यसपछि बजेटमाथिको सामान्य छलफल अघि बढाउने तयारी गरिएको छ। यद्यपि संसद अवरुद्ध भएमा उक्त कार्यसूची प्रभावित हुन सक्ने देखिएको छ।
बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको मनोनयनबारे जानकारी गराउने तथा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट तोकिएको अवधिभित्र फिर्ता नभएको जानकारी गराउने कार्यसूची पनि रहेको छ।
यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।