सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाटै फर्काइए

मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं । फिफा विश्वकप २०२६ सम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका हुँदै मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

आज बिहान विदेश प्रस्थानको तयारीमा रहेका दुवै पदाधिकारीलाई अध्यागमन कार्यालयले विदेश यात्रा गर्न रोक लगाउँदै विमानस्थलबाट फिर्ता पठाएको स्रोतले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका केही पदाधिकारीमाथि विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै नेम्वाङ र राईलाई विदेश जान नदिइएको बताइएको छ।

राखेपले एन्फाको आर्थिक कारोबार तथा सम्भावित अनियमिततासम्बन्धी छानबिन जारी रहेकाले सम्बन्धित पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाउने सिफारिस गरेको थियो। यही कारण उनीहरू अध्यागमनको निगरानी सूचीमा रहेको जनाइएको छ।

विश्वकप २०२६ सम्बन्धी कार्यक्रममा सहभागिताका लागि विदेश जानुपर्ने भन्दै एन्फा नेतृत्वले यात्रा प्रतिबन्ध हटाउन पहल गरेको थियो। यसै सिलसिलामा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेप पुगेका थिए। तर राखेपले प्रतिबन्ध फुकुवा गर्न अस्वीकार गरेपछि उनीहरूको विदेश यात्रा सम्भव हुन सकेन।

एन्फाको आर्थिक गतिविधिबारे छानबिन चलिरहेका बेला अध्यक्ष र महासचिवलाई विमानस्थलबाटै फर्काइएको घटनाले नेपाली फुटबल क्षेत्रमा नयाँ बहस र चासो उत्पन्न गरेको छ। यस घटनापछि एन्फा, राखेप र सम्बन्धित निकायबीचको सम्बन्ध तथा छानबिन प्रक्रियाबारे थप प्रश्न उठ्न थालेका छन्।