काठमाडौं । विपक्षी दलहरूको विरोध जारी रहेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सोमबार बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरू विरोधस्वरूप आ–आफ्नो स्थानबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
बैठकमा सभामुखले नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्याललाई बोल्न समय दिएका थिए। त्यसक्रममा उनले प्रधानमन्त्री बालेन्द्र साहको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन भएको आरोप लगाइन्।
उपनेता अर्यालले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउनुपर्ने र संसदमार्फत क्षमायाचना गर्नुपर्ने माग गर्दै उक्त विषयमा स्पष्ट जवाफ नआएसम्म विपक्षी दलहरूको असन्तुष्टि कायम रहने संकेत गरिन्।
प्रधानमन्त्री साहले गत जेठ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा नेपाल–भारत सीमा समस्यालाई कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसदमा निरन्तर प्रश्न उठाउँदै आएका छन्।