काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र साह तत्काल संसदमा उपस्थित हुन नसक्ने बताएका छन्।
सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे स्वयं संसदमा उपस्थित भएर स्पष्ट पार्नुपर्ने अडान राखेपछि लामिछानेले सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने जानकारी दिएका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीमाथि उठेका प्रश्नको जवाफ परराष्ट्रमन्त्रीले दिने जानकारी बैठकमा दिइएको बताए। परराष्ट्रमन्त्रीको जवाफपछि आवश्यक परे सभापति लामिछाने स्वयंले पनि धारणा राख्ने बताइएको उनले जानकारी दिए।
महरका अनुसार विपक्षी दलहरूले संसद अवरोध गर्ने इच्छा नभएको स्पष्ट पार्दै प्रधानमन्त्रीले संसदमा आएर आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग दोहोर्याएका छन्। उनले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित र सार्वभौमिकतासँग जोडिएको गम्भीर विषय भएकाले संसदमै स्पष्टिकरण आवश्यक रहेको बताए।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म संसदको गतिरोध अन्त्य गर्न कठिन हुने धारणा राखेका छन्। यस विषयमा सहमति जुट्न नसकेपछि सर्वदलीय बैठक निष्कर्षविहीन रूपमा टुंगिएको बताइएको छ।
बैठकमा सभापति लामिछानेले हालै सम्पन्न आफ्नो भारत भ्रमणबारे समेत सहभागी दलहरूलाई जानकारी गराएका थिए।