काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले मधेसको समर्थनमा सरकार गठन हुने तर मधेसी समुदायका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाएका छन्।
सोमबार माइतीघरमा जनमत पार्टीले आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै राउतले नेपालमा शासन व्यवस्था परिवर्तन भए पनि मधेसका माग र अधिकारप्रति राज्यको दृष्टिकोणमा अपेक्षित परिवर्तन नआएको बताए।
उनले राणा शासनकालदेखि नै मधेसमाथि विभेदपूर्ण व्यवहार हुँदै आएको दाबी गर्दै पछिल्ला ७५ वर्षमा नेपाली कांग्रेस र विभिन्न कम्युनिष्ट दलहरूले पनि मधेसका मुद्दालाई सम्बोधन गर्न नसकेको आरोप लगाए। उनका अनुसार २००७/००८ सालपछि विभिन्न राजनीतिक दलहरूले सत्ताको नेतृत्व गरे पनि मधेसी समुदायले नागरिकता, सुकुम्बासी व्यवस्थापन, स्वायत्तता लगायतका आधारभूत अधिकार अझै पूर्ण रूपमा प्राप्त गर्न सकेको छैन।
राउतले सशस्त्र द्वन्द्व र त्यसपछिका राजनीतिक परिवर्तनका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गरे। मधेसको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य हुन नसक्ने उनको भनाइ थियो।
उनले मधेसबाट मत लिएर सरकार गठन गर्ने तर अधिकार प्रदान नगर्ने प्रवृत्ति अन्त्य गर्न सरकारलाई आग्रह गर्दै मधेसका मागहरू सम्बोधन गर्नुपर्ने बताए।
साथै, मधेसका विभिन्न मागहरू समेटिएको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाइने जानकारी पनि उनले दिए।