काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ। संसद् सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल सुरु गर्नुका साथै विभिन्न महत्वपूर्ण विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सदनमा पेश गर्नेछन्। छलफलपछि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्रीले दिने कार्यक्रम रहेको छ।
यसैगरी, उनले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने तथा उक्त विधेयक सदनमा टेबुल गर्नेछन्। साथै ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ पनि प्रस्तुत गर्न अनुमति माग्दै सदनमा पेश गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेलले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नेछन्।
आजको बैठकलाई बजेट तथा आर्थिक व्यवस्थापनसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू अघि बढाउने दृष्टिले अर्थपूर्ण मानिएको छ।