काठमाडौँ । स्रोत अभावका कारण विगत केही वर्षदेखि समस्याग्रस्त बनेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी प्रक्रिया सहज बन्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्ला वर्षदेखि बाँकी रहेको बिमा दायित्व भुक्तानीलाई तीव्रता दिएसँगै स्वास्थ्य संस्थाहरूले क्रमशः रकम प्राप्त गर्न थालेका छन्।
पछिल्लो एक सातामात्र सरकारले स्वास्थ्य बिमाबापत रु १ अर्ब ३ करोड विभिन्न स्वास्थ्य संस्थाको खातामा निकासा गरेको छ। यसबाट १५५ सरकारी, २५ सामुदायिक र ३७ निजी अस्पताल लाभान्वित भएका छन्।
स्वास्थ्य बिमा बोर्डका अनुसार हालै मात्र विपन्न वर्गका बिरामीहरूको उपचार खर्चबापत रु ३२ करोड ६ लाखभन्दा बढी रकम भुक्तानी गरिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन शाहले यसअघि सरकारी अस्पतालमा उपचार गराउने बिरामीलाई प्राथमिकताका साथ भुक्तानी गरिने गरिएकोमा अहिले निजी स्वास्थ्य संस्थामा उपचार गराएकाहरूलाई समेत रकम उपलब्ध गराइएको जानकारी दिए।
भुक्तानी प्राप्त गर्ने स्वास्थ्य संस्थाहरूमा मध्यविन्दु जिल्ला अस्पताल, भेरी अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा बिएण्डसी शिक्षण अस्पताललगायतका डेढ सयभन्दा बढी अस्पताल रहेका छन्।
विपन्न नागरिकका लागि मिर्गौला डायलाइसिस, मुटुरोग उपचार, गम्भीर टाउको चोटपटक तथा स्पाइनल इन्जुरीजस्ता रोगको उपचार खर्च शोधभर्ना गर्न उक्त रकम पठाइएको बोर्डले जनाएको छ। आवश्यक कागजात पूरा भएका दाबीहरूका आधारमा भुक्तानी प्रक्रिया अघि बढाइएको बताइएको छ।
स्वास्थ्य बिमा कार्यक्रमको दिगोपन सुनिश्चित गर्न सरकारले चालु आर्थिक वर्षमा रु १५ अर्ब बजेट विनियोजन गरेको छ। साथै, बिमा प्रणालीलाई स्रोतअनुकूल बनाउने, अस्पतालहरूको सेवा तथा खरिद प्रक्रियामा निगरानी कडा गर्ने र अनियमितता नियन्त्रण गर्ने तयारीसमेत गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बिमा जस्तो जनमुखी कार्यक्रमलाई प्रभावित हुन नदिन सरकारले विगतका सबै बक्यौता रकम क्रमशः भुक्तानी गर्दै जाने बताइन्। भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कार्यक्रमको प्रभावकारी नियमन र अनुगमनमा विशेष ध्यान दिइने उनको भनाइ छ।