काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको व्यक्तिगत फेसबुक खातामा शनिबार राति पोस्ट भएको एक स्ट्याटसलाई लिएर सामाजिक तथा राजनीतिक वृत्तमा व्यापक चर्चा र बहस सुरु भएको छ।
रोमन अक्षरमा लेखिएको उक्त स्ट्याटसमा ‘Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na?’ भन्ने अभिव्यक्ति देखिएको थियो। कुनै स्पष्ट व्यंग्यात्मक संकेत वा इमोजी प्रयोग नभएकाले उक्त पोस्टलाई धेरैले गम्भीर अर्थमा पनि लिएका छन्।
तर प्रधानमन्त्री निकट स्रोत तथा केही रास्वपा सांसदहरूले भने उक्त पोस्टलाई हल्का हास्यरस र व्यंग्यका रूपमा लिएका छन्। सामाजिक सञ्जालमा यसै विषयमा विभिन्न प्रकारका प्रतिक्रिया र टिप्पणीहरू पनि आएका छन्।
प्रधानमन्त्री शाहको उक्त पोस्टलाई केहीले सरकारी सचिव कृष्णहरि पुष्करप्रति गरिएको व्यंग्यका रूपमा व्याख्या गरेका छन्। यसअघि प्रधानमन्त्री कार्यालयबाट सचिव पुष्करलाई प्रधानमन्त्रीको मोबाइलमा म्यासेज पठाइएको कारण प्रहरीले पक्राउ गरी केही समय सोधपुछपछि रिहा गरिएको प्रसंग पनि पुनः चर्चामा आएको छ।
अहिले आलोचकहरूले प्रधानमन्त्रीको उक्त शैलीलाई जिम्मेवार पदको मर्यादासँग नमिल्ने भन्दै टिप्पणी गरेका छन्। उनीहरूको भनाइमा उच्च सरकारी पदमा रहेका व्यक्तिले सार्वजनिक सञ्चार माध्यममा प्रयोग गर्ने भाषा र शैली संयमित हुनुपर्ने हुन्छ। मजाकका रुपमा याे स्तरकाे ‘हाशीमजाक’ उपयुक्त नहुने भन्दै आलाेचना भएकाे छ ।
त्यस्तै, प्रधानमन्त्रीको फेसबुक पोस्टमा शिक्षामन्त्री सस्मित पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला लगायतले पनि टिप्पणी गर्दै हास्यरसपूर्ण प्रतिक्रिया दिएकाे पाइन्छ ।
यद्यपि केही सचेत प्रयोगकर्ताले भने प्रधानमन्त्रीलाई संवेदनशील विषयमा हल्का टिप्पणी नगर्न सुझाव दिएका छन्।
प्रधानमन्त्रीको उक्त स्ट्याटस हालसम्म हटाइएको छैन र यसले राजनीतिक तथा सामाजिक सञ्जालमा बहस जारी राखेको छ।