इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित भएका छन्।
शनिबार सम्पन्न जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतपरिणाम राति अबेर सार्वजनिक हुँदा दाहाल १४२ मतसहित विजयी भएका हुन्। दाहाल यसअघि जिल्ला तदर्थ समितिका संयोजकसमेत रहेका थिए।
सभापति पदका अन्य प्रत्याशी कृष्ण रौनियारले ७४, मोहन निरौलाले ६२ तथा चक्र विष्टले १० मत प्राप्त गरेका छन्।
उपसभापतिमा राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भएका छन्। उनकी प्रतिस्पर्धी देविका भण्डारीले ७४ मत प्राप्त गरिन्।
यस्तै, सचिव पदमा राजारामकुमार मेहता सर्वसम्मत चयन भएका छन् भने सहसचिवमा योगेन्द्र गिरी निर्विरोध निर्वाचित भएका छन्।
अधिवेशनबाट लक्ष्मी सुवेदी, राजकुमारी मेहता, रेणुका हरिजन, धरमबीर आर्य र गोकुल थापा सदस्य पदमा निर्वाचित भएका छन्।
शनिबार साँझ अधिवेशनका क्रममा विवाद र हातहालाहालको अवस्था सिर्जना भएको थियो। त्यसपछि पार्टी नेतृत्वको हस्तक्षेपमा सहमति जुटाइएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको र नयाँ नेतृत्व चयन गरिएको हो।