बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आज देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्न सक्ने

आइतबार, जेष्ठ २४ २०८३

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको प्रभावका कारण आज देशका विभिन्न भागमा बदली तथा वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका क्षेत्रमा आंशिक बदलीको अवस्था छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा मधेश प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने जनाएको छ। तराईका अधिकांश क्षेत्रमा भने मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। यस्तै, मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैबीच मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम अपेक्षाकृत बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहने तथा मधेश प्रदेश र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने बताइएको छ।

रातिको समयमा कोशी प्रदेशका केही तथा मधेश, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले तराईका केही क्षेत्रमा तापक्रम उच्च रहने भएकाले आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेको छ।