इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार प्रहरीचौकी कोशी ब्यारेजमा कार्यरत त्रियुगा नगरपालिका–२ उदयपुरका ३२ वर्षीय प्रहरी जवान रन्दीप पौडेलको उपचारका क्रममा आज मृत्यु भएको हो।
पौडेलले चलाएको स११प २५०० नम्बरको मोटरसाइकल र प्र १–०२–००३ ह १०५२ नम्बरको सिटी सफारी एकआपसमा ठोक्किँदा उनी गम्भीर घाइते भएका थिए। घाइते पौडेलको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय पुने खान उर्फ रजाक मियाँ फरार रहेका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।