सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विपक्षलाई समाप्त पार्ने सोच लोकतन्त्रका लागि घातक हुन्छ : पूर्वप्रधानन्यायाधीश कार्की

शुक्रबार, जेष्ठ २२ २०८३

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सत्तामा पुगेपछि विपक्षी शक्तिलाई पूर्ण रूपमा समाप्त पार्ने मानसिकता लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने बताएकी छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्ता प्राप्त भयो भन्दैमा फरक विचार राख्ने पक्षलाई दबाउने वा राजनीतिक रूपमा समाप्त पार्ने प्रयास गर्नु उचित नहुने धारणा व्यक्त गरिन्। उनले वर्तमान नेतृत्वलाई विगतका अनुभव र इतिहासबाट पाठ सिकेर अघि बढ्न सुझाव दिइन्।

कार्कीले प्रधानमन्त्री बालेन्द्र साह तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई लक्षित गर्दै शासन सञ्चालन गर्दा इतिहास, राजनीतिक अभ्यास र विगतका अनुभवलाई गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताइन्। उनका अनुसार नयाँ पुस्ताका नेताहरूले मुलुक सञ्चालन गर्दा अघिल्ला पुस्ताका अनुभवबाट सिक्न सके शासन थप प्रभावकारी बन्न सक्छ।

उनले सत्तामा रहेका नेताहरूलाई आफूहरू सधैं युवा र शक्तिशाली अवस्थामा नरहने यथार्थलाई पनि स्मरण गर्न आग्रह गरिन्। साथै, विपक्षी दलहरूलाई पनि सरकारको हरेक कदममा अवरोध सिर्जना गर्ने वा खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहन सुझाव दिइन्।

राजनीतिक दलहरू नै लोकतान्त्रिक व्यवस्थाका प्रमुख संवाहक भएकाले आफूले कहिल्यै पनि दलहरूको भूमिकालाई कम मूल्याङ्कन नगरेको उल्लेख गर्दै कार्कीले लोकतन्त्रको सुदृढीकरणका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइन्।

कार्यक्रममा उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान दिएको भन्दै कायममुकायम प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको प्रशंसा समेत गरिन्।