काठमाडौं । रोल्पाको माडी गाउँपालिका–२ स्थित व्याङखोलामा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्सपेक्टर कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा एक महिला र दुई पुरुषको ज्यान गएको हो। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन।
‘घटनास्थलमा पुगेको प्रहरी टोलीबाट एक महिला र दुई पुरुषको मृत्यु भएको जानकारी प्राप्त भएको छ। उनीहरूको सनाखत हुन बाँकी छ भने दुर्घटनामा परेको गाडीको नम्बर समेत खुलेको छैन,’ इन्सपेक्टर श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार पिकअप गाडी सडकबाट करिब ४ देखि ५ सय मिटर तल खसेको थियो। दुर्घटनाबारे प्रहरीलाई आज बिहान करिब ९ बजे जानकारी प्राप्त भएको थियो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। दुर्घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।