काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले सरकारलाई पूर्वाग्रही ढंगले अघि बढेको आरोप लगाउँदै उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले समय र परिस्थिति सधैं एकनासको नहुने भन्दै राज्य सञ्चालनमा रहेका निकाय र व्यक्तिहरूलाई सचेत रहन आग्रह गरे।
उनले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्रजस्ता शक्तिशाली शासन प्रणालीहरू पनि अन्ततः समाप्त भएको उल्लेख गर्दै वर्तमान अवस्थालाई संकेत गर्दै ‘अराजक तन्त्र’ लामो समय टिक्न नसक्ने दाबी गरे।
ओलीले गत भदौ २३ र २४ गते भएका आगजनी, तोडफोड तथा राष्ट्रिय सम्पत्तिमा भएको क्षतिप्रति सरकार गम्भीर नदेखिएको आरोप पनि लगाए। राष्ट्रव्यापी रूपमा भएका यस्ता घटनालाई सामान्य रूपमा लिएर बेवास्ता गर्न खोजिएको भन्दै उनले त्यसप्रति आपत्ति जनाए।
उनका अनुसार राष्ट्रको सम्पत्ति जलाउने, सार्वजनिक संरचनामा क्षति पुर्याउने तथा उपद्रवकारी गतिविधिलाई सामान्य घटनाका रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको छ, जुन गम्भीर विषय हो।
अध्यक्ष ओलीले विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूका गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढंगले विश्लेषण गर्न आवश्यक रहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनको पालना हुनुपर्नेमा जोड दिए।
उनको अभिव्यक्तिलाई वर्तमान राजनीतिक अवस्था, शासनशैली र सुरक्षा व्यवस्थाप्रति एमालेको असन्तुष्टिको रूपमा हेरिएको छ।