सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालयबाट हात्तीका दुई थान दाह्रा चोरी भएको खुलासा, ६ जना पक्राउ

बुधबार, जेष्ठ २० २०८३

काठमाडौं । मुलुकको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयमै चोरी भएको तथ्य सार्वजनिक भएको छ। शीतल निवासको भित्तामा सजाइएका हात्तीका दुई थान दाह्रा चोरी भएको खुलासा भएको हो।

घटनाको करिब ९ महिनापछि प्रहरीले सो चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट चोरी भएका दाह्रासमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार राति नयाँ बसपार्क र मनमैजु क्षेत्रमा सञ्चालन गरेको अपरेशनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवास तोडफोड र आगजनी भएको थियो। सोही अव्यवस्थाको मौका छोपेर भित्तामा सजाइएका हात्तीका दाह्रा चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले दाह्रा चोरीमा संलग्न व्यक्तिहरू पक्राउ गरिएको पुष्टि गरेका छन्। उनका अनुसार पक्राउ परेकाहरूले चोरी गरिएका दाह्रा काटेर भाग लगाई आ–आफ्ना घरमा लुकाएर राखेको पाइएको छ।

प्रहरीले पक्राउ परेकाहरूको पहिचान भने हाल सार्वजनिक गरेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।