बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अन्तरराष्ट्रिय प्रदर्शनीमा नेपालको सांस्कृतिक सम्पदा र मौलिक पहिचानको झल्को

बुधबार, जेष्ठ २० २०८३

काठमाडौं । नेपालले सांस्कृतिक महत्वका सम्पदाका प्रतीकात्मक सामग्री प्रस्तुत गर्दै अन्तरराष्ट्रिय प्रदर्शनीमा सहभागिता जनाएको छ।

संयुक्त राष्ट्रसङ्घको प्रतिनिधिमण्डलका जीवनसाथीहरूको क्लब (युएनडिएससी) द्वारा न्युयोर्कमा आयोजित वार्षिक ‘युएन इन्टरनेशनल बजार’ मा संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगले नेपालको समृद्ध सांस्कृतिक सम्पदा, मौलिक पहिचान र परम्परागत कलाको प्रदर्शनी गरेको हो।

नियोगका अनुसार नेपाली स्टलमा परम्परागत कला, हस्तकला तथा विभिन्न सांस्कृतिक महत्वका सामग्रीहरू राखिएका थिए। ती सामग्रीमार्फत नेपालको सिर्जनशीलता, सांस्कृतिक विविधता र विशिष्ट राष्ट्रिय पहिचानलाई अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिएको थियो। प्रदर्शनीमा राखिएका नेपाली सामग्रीले आगन्तुकहरूको विशेष ध्यान आकर्षित गरेको बताइएको छ।

कार्यक्रममा विश्वका विभिन्न देशहरूले आफ्ना मौलिक उत्पादन, परिकार, संस्कृति तथा परम्परासँग सम्बन्धित सामग्री प्रदर्शन गरेका थिए। सांस्कृतिक विविधता, मित्रता र मानवीय एकताको भावनालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त बजारमा विभिन्न मुलुकबीच सांस्कृतिक आदानप्रदानको अवसरसमेत सिर्जना भएको थियो।

नेपालको स्थायी नियोगले यस्ता कार्यक्रमले संस्कृति, मित्रता र सहानुभूतिमार्फत अझ समावेशी, एकताबद्ध तथा आपसी सम्बन्ध सुदृढ भएको विश्व निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।