बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बिप्पा सम्झौताविरुद्ध परेको रिट खारेज हुने फैसला

बिहिबार, भाद्र १२ २०७६

 काठमाडौं भदौ, १२– सर्वोच्च अदालतले भारतसँग गरेको द्विपक्षीय लगानी प्रवद्र्धधन तथा संरक्षण (बिप्पा) सम्झौताविरुद्ध परेको रिट खारेज हुने फैसला गरेको छ । राजधानी दैनिकले खबर छापेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले सो फैसला गरेको हो ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले भारतसँग ४ कात्तिक २०६८ मा बिप्पा सम्झौता गरेको थिए । सो सम्झौताविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले १६ कात्तिक २०६८ मा सम्झौताको प्रारम्भदेखि नै खारेज हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए ।

सोे रिटमा सुनुवाई गर्दै सर्वोच्चले १२ मंसिर २०६८ मा बिप्पा सम्झौता कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको थियो । तत्कालीन न्यायाधीशहरू ताहिर अली अन्सारी, वैद्यनाथ उपाध्याय र भरतबहादुर कार्कीको विशेष इजलासले कार्यान्वयनमा रोक लगाएको थियो ।

तर, भारतले ८ वर्षपछि नेपालसहित ६८ मुलुकसँग गरेको बिप्पा सम्झौताको औचित्य नरहेको भन्दै रद्द गरेको पत्र बुधबार सर्वोच्चमा सरकारी वकिलले पेस गरेपछि बिप्पा सम्झौताविरुद्धको रिटको औचित्य नभएको भन्दै रिट खारेजको फैसला गरेको छ ।

रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भारतले अब नयाँ मोडेलमा बिप्पा सम्झौता गर्नेगरी पत्र पठाएको बताए । ‘पहिला भएको सम्झौता रद्द गर्ने निर्णयसहितको पत्र पठाएपछि रिटको औचित्य नै रहेन,’ उनले भने ।

बिप्पा सम्झौता राष्ट्रको पक्षमा छैन भनेर अधिवक्ता बालकृष्ण न्यौपानेले हालेको रिट निवेदन खारेज गर्ने फैसला भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी गराए ।

‘सामान्यतः रिट खारेज भएपछि तत्कालीन प्रधानमन्त्रीले गरेको बिप्पा सम्झौता कानुनसम्मत छ भन्ने बुझिन्छ, उनले भने, ‘सर्वोच्चले अधिवक्ता न्यौपानेले दायर गरेको रिट खारेज गरे पनि फैसलाको पूर्णपाठ भने आउन बाँकी छ ।’

तत्कालीन प्रधानमन्त्री भट्टराईले भारतसँग बिप्पा सम्झौता गरेर आएपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नै पार्टीका कार्यकर्ता, विपक्षी दलका नेता तथा कार्यकर्ताले विरोध गरेका थिए ।

निकै विवादबीच करिब साढे ८ वर्षअघि भएको बिप्पा सम्झौता अदालतमा मुद्दा परेकै कारण कार्यान्वयनमा आउन सकेको थिएन । दुई साताअघि नेपाल–भारत संयुक्त आयोगको बैठकमा कार्यान्वयन हुन नसकेका सम्झौताको विषयलाई परिमार्जन गर्ने छलफल भएको थियो ।

तत्कालीन प्रधानमन्त्री भट्टराईको भारत भ्रमणका बेला उद्योगमन्त्री अनिलकुमार झाले बिप्पा सम्झौतामा हस्ताक्षर गरेका थिए । भारत सरकारका तर्फबाट भने तत्कालीन अर्थमन्त्री प्रणव मुखर्जीले हस्ताक्षर गरेका थिए । नेपालले हालसम्म फ्रान्स, भारत, मरिसस, फिनल्यान्ड, बेलायत र जर्मनीसँग बिप्पा सम्झौता गरेको छ ।