बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

राष्ट्र बैंकद्धारा भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशनमा संसोधन

मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशनमा संसोधन गरेको छ । राष्ट्र बैंकले मंगलबार भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त (बैंक तथा वित्तीय संस्था बाहेक) संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फस्यौंट ऐन, २०७५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको हो ।

संसोधित व्यवस्था अनुसार कुनै पनि संस्थाको सञ्चालन, व्यवस्थापन वा काम कारवाहीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा स्वामित्व हुने, नियन्त्रण गर्ने वा सहभागी हुने वा सोको वास्तविक धनी वा हिताधिकारीका वित्तीय गैरकानूनी आर्जन वा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आपराधिक संलग्नता सम्बन्धमा संस्थाले देहायको अवस्थामा सम्बन्धित व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको मापदण्ड पालनाकी स्वघोषणा , सम्बन्धित व्यक्तिको नाम, थर, ठेगाना, पारिवारिक विवरण, वास्तविक उनी तथा हिताधिकारीको विवरण, नेपाल वा विदेशमा कुनै कसूरमा संलग्न भए वा नभएको घोषणा र भएको भए सोको विस्तृत विवरण र वर्तमान अवस्था, कुनै प्रकारको मुद्दा मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक वा प्रशासनिक कारवाहीको प्रक्रियामा रहेको लिखित रूपमा जानकारी भएको भए सोको विवरण,, अदालत वा अधिकारप्राप्त अधिकारीको फैसला वा आदेश बमोजिम तिर्नु, बुझाउनु पर्ने राजस्व, सरकारी बाँकी बक्यौता रहे वा नरहेको विवरण, नेपाल वा विदेशमा कर्जा सम्बन्धी कालोसूचीमा परे वा नपरेको विवरण, नेपाल र विदेशमा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था विद्यमान रहे वा नरहेको विवरण र सम्बन्धित व्यक्ति नेपाली नागरिक भए निजको नेपाल बाहिर कुनै सम्पत्ति रहे वा नरहेको वा कुनै सम्पत्तिमा वास्तविक धनी वा हिताधिकारी भए वा नभएको घोषणा सहितका सबै बिवरण भरेर राष्ट्र बैंकमा पठाउनु पर्ने छ ।

संसोधित व्यवस्था अनुसार चुक्ता पुँजीको पाँच प्रतिशत वा पचास लाख रुपैयाभन्दा बढीको शेयर वा पुजी लगानी वा खरिद गर्दा, सूचक संस्थाको सञ्चालक वा उच्च व्यवस्थापकीय पद वा तहमा नियुक्ति वा मनोनयन गर्दा र पांच प्रतिशत वा २५ लाख रुपैयाभन्दा बढीको शेयर वा पुंजीमा वास्तविक धनी वा हिताधिकारी रहंदा त्यसको जानकारी समेत नियमनकारी निकायमा पठाउनु पर्ने छ । यसैगरी विगतमा संलग्न भएको कार्य, संस्था, प्राप्त भएको जिम्मेदारी, पुरस्कार, सजायको अवस्था, कार्य सफलताको उदाहरण लगायतका विषय खुल्ने सम्बन्धित क्षेत्रको कार्य अनुभव सम्बन्धी विवरण, वित्तीय आचरण (फाइनान्सियल साउन्डनेस सम्बन्धी विवरण समेत पठाउनु पर्ने छ । राष्ट्र बैंकका अनुसार यो मापदण्ड प्रारम्भ हुँदाका बखत कायम रहेको व्यक्तिको हकमा समेत यि सबै बिवरण राष्ट्र बैंकमा पठाउनु पर्ने छ ।