बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

क्रिप्टोकरेन्सी कारोबार र डिजिटल ठगी आरोपमा चिकित्सक पक्राउ

मंगलबार, जेष्ठ १९ २०८३

चितवन । गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षीय डा. पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए।

प्रहरीले अनुसन्धानका क्रममा डा. यादवले अवैध क्रिप्टोकरेन्सी कारोबारको नेटवर्क सञ्चालन गर्दै आएको पाएको जनाएको छ। मोबाइल तथा अन्य विद्युतीय उपकरणको परीक्षणका क्रममा उनले वाइनान्स (Binance) र बाइविट (Bybit) जस्ता प्रतिबन्धित एप्लिकेसन प्रयोग गरी अभौतिक मुद्राको अवैध सञ्चय तथा कारोबार गरिरहेको फेला परेको प्रहरीले जनाएको छ।

भरतपुरस्थित एक अस्पतालमा कार्यरत चिकित्सक यादवले हालसम्म कति व्यक्तिबाट कति रकम ठगी गरेका छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले बताए।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।