काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले प्रतिनिधिसभामा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू एकजुट भएका छन्। सोमबार बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने निष्कर्ष निकालेको छ।
विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एक नेतृले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ भन्दै कडा आलोचना गरिन्। उनले प्रधानमन्त्रीको भनाइले देश र नागरिकको स्वाभिमानमा चोट पुगेको दाबी गरिन्।
उनले भनिन्, “प्रधानमन्त्रीको अभिव्यक्तिले हामी सबैको शिर झुकेको छ। यो निन्दनीय कुरा नै हो। राष्ट्रको माटोलाई समातेर कसम खाएर प्रधानमन्त्रीज्यूले आफ्ना त्रुटिपूर्ण राष्ट्रघाती अभिव्यक्तिको क्षमायाचनासहित फिर्ता लिनुपर्छ। हामी त्यो कुरा संसद् मार्फत प्रस्तुत गर्छौँ।”
उनका अनुसार विपक्षी दलहरूले यो विषयलाई संसद्मा औपचारिक रूपमा उठाउने तयारी गरेका छन्। साथै, आगामी दिनमा संसद्भित्र अपनाइने रणनीति सभामुख डोलप्रसाद अर्याल को भूमिकामा पनि निर्भर रहने बताइएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न र अभिव्यक्ति सच्याउन दबाब बढाइरहेका बेला यो विषय संसद् र राजनीतिक वृत्तमा थप पेचिलो बन्ने संकेत देखिएको छ।