काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिपछि त्यससम्बन्धी तथ्य सार्वजनिक गर्न माग गरेकी छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै तामाङले प्रधानमन्त्रीले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ भन्ने स्पष्ट जानकारी दिनुपर्ने बताएकी हुन्। उनले अहिलेसम्म आफू लगायत अधिकांश नेपालीले भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय मात्र तथ्यका रूपमा सुन्दै आएको उल्लेख गरेकी छन्।
तामाङले लेखेकी छन्, “प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ, त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु। किनकि सधैंभरि म लगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको तथ्य थाहा पाएका थियौँ। तर आजबाट हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ भन्ने बुझ्नुपर्ने दिन आएको छ। उक्त कुरा हजुरबाट पुष्टि हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।”
प्रधानमन्त्रीले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउने क्रम जारी छ। प्रधानमन्त्रीको भनाइलाई लिएर सत्तापक्ष र प्रतिपक्षका नेताहरूले समेत आ–आफ्नो धारणा सार्वजनिक गरिरहेका छन्।