काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर आज प्रतिपक्षी दलहरूले संसद बैठकमा कडा प्रतिवाद गर्ने भएका छन् । यस विषयमा हिजो नै प्रतिपक्षी दलहरूबीच प्रारम्भिक सहमति भएको बताइएको छ ।
आज प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसले विपक्षी दलहरूको बैठक बस्दैछ ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आव्हानमा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्याह्न १२ बजे बैठक डाकिएको छ ।
हिजोको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अचानक उपस्थित भई सांसदहरूलाई प्रश्न गर्न आग्रह गरेका थिए । त्यसक्रममा उनले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि संसदभित्र र बाहिर तीव्र आलोचना भइरहेको छ ।
उक्त अभिव्यक्तिपछि केही प्रतिपक्षी सांसदहरूले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका थिए । तर सभामुख डी.पी. अर्याल ले त्यसमा कुनै सुनुवाइ नगरेको आरोप लागेको छ ।
त्यसैबीच, सभामुख अर्यालले नियमावली सम्बन्धी प्रक्रिया अघि बढाउन खोजेपछि हिजोको बैठक दिनभर तनावपूर्ण बनेको थियो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति नै प्रमुख एजेन्डा बन्ने देखिएको छ ।
प्रतिपक्षी दलका प्रमुख नेताहरूबीच आज बैठकअघि अनौपचारिक छलफल हुने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महर का अनुसार बैठकको सुरुवातदेखि नै बेल घेराउ गर्ने तयारी छ ।
उनले भने, “प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाएर माफी नमागेसम्म संसद चल्न दिँदैनौं ।”