काठमाडौँ । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्रीको भनाइले नेपालको राष्ट्रिय अडान कमजोर बनाउने र अन्तर्राष्ट्रिय स्तरमा भ्रम सिर्जना गर्न सक्ने बताएका छन्।
उनका अनुसार नेपालले ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा सीमा सम्बन्धी आफ्नो दाबी स्पष्ट रूपमा राख्दै आएको छ। यस्तो अवस्थामा संसद् जस्तो सर्वोच्च मञ्चबाट आएको अभिव्यक्तिले देशको कूटनीतिक स्थिति प्रभावित हुन सक्ने उनको भनाइ छ।
घिसिङले लेखेका छन्, “नेपालले विगतदेखि नै उपलब्ध ऐतिहासिक दस्तावेज, नक्सा, सन्धि तथा तथ्य–प्रमाणका आधारमा आफ्नो अडान स्पष्ट रूपमा राख्दै आएको छ। यस्तो अवस्थामा सार्वभौम राष्ट्रको प्रधानमन्त्रीले संसदजस्तो सर्वोच्च मञ्चबाट दिएको यस्तो अभिव्यक्तिले नेपालको राष्ट्रिय अडानलाई कमजोर बनाउँछ।”
उनले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा सोही पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति आउनु सन्देहास्पद भएको टिप्पणी गरेका छन्। यसले संशय र प्रश्नहरू जन्माएको उनको भनाइ छ।
घिसिङले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिको आधार, सन्दर्भ र तथ्य सार्वजनिक रूपमा स्पष्ट पार्न पनि आग्रह गरेका छन्।
सीमा समस्या भावनात्मक वा अनुमानका आधारमा नभई ऐतिहासिक तथ्य र विज्ञहरूको अध्ययनका आधारमा समाधान हुनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय हितका विषयमा अस्पष्टता होइन, दृढता र जिम्मेवारी आवश्यक रहेको बताएका छन्।
उनका अनुसार सीमा सम्बन्धी विषय कुनै दल वा व्यक्तिको नभई सम्पूर्ण राष्ट्रको साझा र संवेदनशील विषय हो।