काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले प्रतिनिधिसभामा प्रधानमन्त्रीले दिएको ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहितविपरीत र राष्ट्रघाती भएको आरोप लगाएका छन्।
पार्टीका अध्यक्ष साम्पाङले सोमबार विज्ञप्ति जारी गर्दै पूर्वनिर्धारित कार्यसूचीबिनै बोलाइएको सदनको बैठकमा प्रधानमन्त्रीले दिएको उक्त अभिव्यक्तिले नेपालको सीमा र भौगोलिक अखण्डतासम्बन्धी राष्ट्रिय अडानलाई कमजोर बनाउने प्रयास गरेको दाबी गरेका हुन्।
विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले नेपाल–भारत सीमा विवादका विषयलाई ओझेलमा पार्ने, विशेषगरी लिपुलेक र लिम्पियाधुरा लगायतका भूभाग फिर्ता हुनुपर्ने नेपाली मागलाई कमजोर बनाउने संकेत गरेको उल्लेख गरिएको छ।
श्रम संस्कृति पार्टीले उक्त अभिव्यक्तिबाट अन्तर्राष्ट्रिय समुदायमा नेपालको आधिकारिक धारणा र अवस्थाबारे भ्रम उत्पन्न हुन सक्ने पनि जनाएको छ। विज्ञप्तिमा सरकार नेपालको सीमा सुरक्षा तथा भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको आरोप लगाउँदै प्रधानमन्त्रीको भनाइप्रति घोर आपत्ति र विरोध व्यक्त गरिएको छ।
साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति किन र कुन उद्देश्यले आएको हो भन्ने प्रश्न उठाउँदै यसले राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षासम्बन्धी संवेदनशील विषयमा गम्भीर बहस सिर्जना गरेको बताएका छन्।
विज्ञप्तिको अन्त्यमा श्रम संस्कृति पार्टीले राष्ट्रिय हित, भूगोल र सार्वभौमिकताको संरक्षणमा दृढ रहन सरकारसँग माग गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध जारी रहने जनाएको छ।
