काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको ‘नेपालले समेत भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्तिको कडा आलोचना गरेका छन्। उनले उक्त भनाइलाई गलत, राष्ट्रविरोधी र खतरनाक भन्दै प्रधानमन्त्रीको हैसियत सुहाउने अभिव्यक्ति नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै खनालले नेपालका नागरिकले विगतदेखि नै विदेशी अतिक्रमणविरुद्ध संघर्ष गर्दै आएको स्मरण गराउँदै प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको दाबी गरेका छन्।
“हिजो प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा बोल्दा नेपालले समेत भारतका जग्गा मिचेको खतरनाक अभिव्यक्ति दिन पुगे। यो अत्यन्त गम्भीर, दुःखद, गलत र राष्ट्रविरोधी अभिव्यक्ति हो,” खनालले उल्लेख गरेका छन्।
उनले प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र दस्तावेजका आधारमा यस्तो अभिव्यक्ति दिएको हो भन्ने प्रश्नसमेत उठाएका छन्। खनालका अनुसार उक्त भनाइले देशभित्र र विदेशमा रहेका नेपालीहरूको देशभक्तिपूर्ण भावनामाथि आघात पुगेको छ।
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खनालले प्रधानमन्त्री शाहले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्। माफी नमागेसम्म प्रधानमन्त्रीको विरोध र भर्त्सना गर्न सम्पूर्ण देशभक्त नागरिक तथा शक्तिहरूलाई आग्रह समेत गरेका छन्।
साथै, उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई प्रतिनिधिसभाको अभिलेख (रेकर्ड) बाट हटाउन सभामुखसमक्ष आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा “भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको” भन्ने अभिव्यक्ति दिएका थिए।