सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

अरु दलको साथ नपाउँदा निर्वाचनमा जानुपर्‍यो : अध्यक्ष ओली

आइतबार, जेष्ठ १७ २०८३

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले लोकतन्त्रका लागि लामो संघर्ष गरेका पुराना राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी रहेको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले अन्तरपार्टी निर्देशन (अपानि–२) जारी गर्दै नयाँ र पुरानाको बहसका नाममा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका हुन्।

ओलीद्वारा हस्ताक्षरित अपानीमा २३ र २४ भदौपछिको राजनीतिक घटनाक्रमले मुलुक प्रतिगमनतर्फ उन्मुख भएको उल्लेख गर्दै त्यसलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डा अघि सारेको जनाइएको छ।

“प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउन प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएकाले हाम्रो पार्टीसमेत निर्वाचनमा जानुपरेको थियो,” अपानीमा उल्लेख छ।

अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको परिणाम अपेक्षाअनुसार नभएको उल्लेख गर्दै पार्टीभित्र देखिएको निराशा र पलायनवादी प्रवृत्तिबाट टाढा रहन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

पार्टी अहिले समीक्षा प्रक्रियामा रहेको जनाउँदै उनले केन्द्रीय कमिटी बैठकबाट पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताएका छन्। विगतमा अनेक चुनौती सामना गर्दै एमाले राष्ट्रिय राजनीतिको केन्द्रीय शक्तिका रूपमा स्थापित भएको स्मरण गराउँदै उनले पार्टी काममा सक्रिय हुन सबैलाई आह्वान गरेका छन्।

यस्तै, एमालेले वर्तमान सरकार स्वेच्छाचारी तथा अधिनायकवादी बाटोमा अघि बढेको निष्कर्ष निकालेको छ। पार्टीका अनुसार सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य–मान्यता, संसदीय प्रणाली तथा स्वतन्त्र सञ्चारमाध्यममाथि दबाब सिर्जना गरेको छ।

सरकार गठन भएयता संसद्लाई कमजोर बनाउने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने तथा सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको आरोप एमालेले लगाएको छ।

सरकारका यस्ता गतिविधिविरुद्ध सदन र सडक दुवैबाट सशक्त विरोध अभियान सञ्चालन गर्ने निर्णय पार्टीले गरेको जनाएको छ।