काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा केही संरचनागत तथा नीतिगत सुधारका प्रयास समेटिए पनि न्यून आय भएका र विपन्न वर्गका समस्या सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन्।
नेपाल थारु संघको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले लामो समयदेखि उठाउँदै आएका केही संरचनागत सुधारका विषय बजेटमा समेटिनु सकारात्मक पक्ष भएको बताए। यस्ता विषय कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्न प्रतिपक्षको भूमिकाबाट कांग्रेसले सहयोग गर्ने उनले स्पष्ट पारे।
“जहाँ राम्रो काम भएको छ, त्यसलाई राम्रो भन्नुपर्छ। आवश्यक कानुन बनाउनुपर्ने अवस्थामा हामी सहयोग गर्न तयार छौँ। तर गलत दिशामा गएका विषयमा सचेत गराउने जिम्मेवारी पनि हाम्रो हो,” उनले भने।
थापाले वर्तमान सरकार गरिबी न्यूनीकरणभन्दा गरिबलाई नै विस्थापित गर्ने मानसिकताबाट प्रभावित भएको आरोप लगाए। भूमिहीन र सुकुम्बासीप्रति राज्यले गरेको व्यवहारले सरकारको नियत प्रष्ट हुने उनको भनाइ थियो।
“गरिबी हटाउनुपर्ने ठाउँमा सरकार गरिब हटाउने सोचमा देखिएको छ। गरिबलाई हटाउँदैमा गरिबी हट्दैन,” उनले भने।
उनले आर्थिक मन्दी, महँगी र बढ्दो जीवनयापन खर्चबाट सबैभन्दा बढी प्रभावित न्यून आय भएका नागरिकको समस्याप्रति सरकार उदासीन रहेको दाबी गरे। भान्सा चलाउन, बालबालिकाको शिक्षा खर्च धान्न तथा स्वास्थ्य उपचार गराउन कठिनाइ भोगिरहेका वर्गलाई बजेटले कुनै ठोस राहत दिन नसकेको उनको भनाइ थियो।
यद्यपि उच्च आय भएका वर्गका लागि बजेटमा केही सकारात्मक व्यवस्था गरिएको उनले स्वीकार गरे। सामाजिक सञ्जालमा बजेटको प्रशंसा भइरहे पनि प्रतिपक्षको जिम्मेवारी सरकारका कमजोरी औँल्याउनु रहेको उनले बताए।
“सरकार संविधानविपरीत जान्छ भने कांग्रेस उभिन्छ। राज्यका स्रोत–साधन सीमित समूहको हितमा केन्द्रित हुन्छन् भने त्यसका विरुद्ध कांग्रेस बोल्छ। यही प्रतिपक्षको दायित्व हो,” उनले भने।
थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्न नैतिक साहस, जनविश्वास र निरन्तर जनसम्पर्क आवश्यक पर्ने उल्लेख गर्दै पार्टीका भ्रातृ संगठनहरूलाई आन्तरिक विवाद र नेतृत्वको खिचातानीमा अल्झिनुभन्दा जनताको बीचमा जान निर्देशन दिए।
थारु संघ, विद्यार्थी संगठन, महिला संघ तथा दलित संघजस्ता संगठनहरूले आ–आफ्नो समुदायका हकहितका विषय लिएर गाउँ–गाउँ पुग्नुपर्ने र नागरिकको भरोसा जित्नुपर्नेमा उनले जोड दिए।