सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

विद्युतमा भ्याट लगाउने निर्णय स्वदेशी ऊर्जाविरुद्ध : शङ्कर पोखरेल

आइतबार, जेष्ठ १७ २०८३

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय गरेर स्वदेशी ऊर्जा प्रयोगलाई निरुत्साहित गरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै विगतमा दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिटभन्दा बढी विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको भन्दै प्रश्न उठाएका छन्।

नेपाल जलस्रोतका हिसाबले विश्वकै धनी राष्ट्रमध्ये एक रहेको उल्लेख गर्दै उनले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको बताएका छन्।

पोखरेलले पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धिको अवस्थामा हरित ऊर्जाको प्रवर्द्धन गर्नुपर्नेमा विद्युतीय सवारीसाधनको प्रयोगलाई समेत निरुत्साहित गर्ने गरी बजेटमार्फत करको भार थपिएको टिप्पणी गरेका छन्।

बजेटको आकार बढाउने नाममा आयस्रोत देखाउन यस्तो निर्णय गरिएको भए सरकारले तत्काल आफ्नो गल्ती सच्याउनुपर्ने उनको भनाइ छ। सरकार आफैंले नाफा लिएर बिक्री गरेको विद्युत्को खपत बढ्दा भ्याट लगाएर जनतामाथि थप भार थोपर्नुभन्दा आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा विद्युत्को अधिकतम उपयोग गर्न प्रेरित गर्नुपर्ने उनले बताएका छन्।

महासचिव पोखरेलले विद्युत् सम्बन्धी भ्याट फिर्ता लिन, जनताको हितअनुकूल निर्णय गर्न तथा स्वदेशी ऊर्जाको सम्मान गर्न सरकारसँग आग्रह गरेका छन्।