बागमती । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार हेटौँडाबाट ललितपुरस्थित निर्माणाधीन बागमती जलविद्युत् आयोजनाका लागि सामग्री बोकेर जाँदै गरेको ट्रक गएराति दुर्घटनामा परेको हो।
दुर्घटनामा हेटौँडा उपमहानगरपालिका–३ निवासी ३० वर्षीय चालक दलबहादुर बर्तौलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
खोलामा खसेर डुबेको ट्रकलाई यान्त्रिक उपकरणको सहायताले राति नै निकालिएको थियो। चालक बर्तौलाको शव ट्रकको चालक सिटमै फेला परेको प्रवक्ता काफ्लेले जानकारी दिए।
ट्रकका सहचालक भने दुर्घटना हुनुअघि नै हामफालेर ज्यान जोगाउन सफल भएका थिए।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।