सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाको नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

शनिबार, जेष्ठ १६ २०८३

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको प्रमुख आधारका रूपमा स्थापित गर्दै मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताएका छन्।

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा र असमानताको अन्त्य गरी सम्मानजनक तथा सुरक्षित समाज निर्माण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे ।

उनले घर, समाज, कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्द्धन गर्न राज्य र नागरिक समाजबीचको सहकार्य थप सुदृढ हुनुपर्नेमा जोड दिए।

‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने नारासहित मनाइँदै आएको राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा राष्ट्रपति पौडेलले महिला अधिकार सुनिश्चित गर्न योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चार महत्वपूर्ण विशेष प्रस्ताव पारित गरेको दिनको स्मरण गर्दै त्यस दिनलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउने गरिएको बताए। साथै, महिला अधिकार र लैङ्गिक समानता प्रवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका प्रयासलाई यस दिवसले थप ऊर्जा र सम्मान प्रदान गर्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले महिलाको श्रम, सीप, सिर्जनशीलता र क्षमतालाई विकास प्रक्रियाको मूलधारमा समावेश गरी आत्मनिर्भर बनाउन, स्रोत–साधन तथा अवसरमा समान पहुँच सुनिश्चित गर्न र निर्णय प्रक्रियामा सहभागिता बढाउन सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको बताए।

उनका अनुसार नेपाली महिलाले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमशीलताका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेका छन्।

राष्ट्रपति पौडेलले राष्ट्रिय महिला अधिकार दिवसले सामाजिक सोच, व्यवहार, प्रथा र परम्परामा सकारात्मक परिवर्तन ल्याउँदै महिलाको सुरक्षा, सम्मान तथा अधिकार सुनिश्चित गर्न र लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।