काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता संस्थाहरूको संरक्षण अपरिहार्य रहेको बताएका छन् ।
गणतन्त्र दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले लोकतान्त्रिक गणतन्त्र नभए जनताले आफ्नो अधिकार र सुखसमेत गुमाउनुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, “लोकतान्त्रिक गणतन्त्र नभए के–के गुमाउनु पर्छ भन्ने कुरा गणतन्त्र नरहेका बेला मात्रै समाजले महसुस गर्न पाउँछ, जुन हाम्रो अघिल्लो पुस्ताले भोगेको थियो ।”
ओलीले लोकतन्त्रका संस्थाहरू कमजोर भए कुनै पनि समाज बलियो बन्न नसक्ने र जनताले सुखसमेत नपाउने उल्लेख गरेका छन् । लोकतान्त्रिक गणतन्त्रका अङ्गहरूको रक्षा गर्नु नै सबैको भविष्यको रक्षा गर्नु भएको उनको भनाइ छ ।
उनले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्षलाई स्मरण गर्दै लोकतन्त्र कमजोर भए भविष्य कस्तो हुन सक्छ भन्ने विषयमा शान्त मनले चिन्तन गर्न सबैलाई आह्वान गरेका छन् ।
ओलीका अनुसार जनताको निराशाबाट लाभ लिन संस्थामाथि अविश्वास पैदा गर्ने, भावनालाई दुरुत्साहित गर्ने र लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिले अधिनायकवादलाई बढावा दिन सक्छ । त्यसैले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको अधिकार क्षेत्रको रक्षा गर्नु नै गणतन्त्रको रक्षा भएको उनले बताएका छन् ।
देशमा धेरै राजनीतिक परिवर्तन भए पनि परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै उनले सामाजिक चेतनाको स्तरअनुसार परिवर्तनको गति निर्धारण हुने उल्लेख गरेका छन् । गणतन्त्रको विकल्प नभएको जिकिर गर्दै ओलीले असन्तुष्टिको समाधान पनि गणतान्त्रिक प्रणालीभित्रै खोज्नुपर्ने बताएका छन् ।