काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
१९औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको औँल्याएका हुन् ।
उनले सन्देशमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राख्दै दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्न सबै राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध पक्षलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आह्वान गरेका छन् ।
राष्ट्रपति पौडेलले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकबाट नेपालमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको उल्लेख गरेका छन् ।
साथै, उनले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेताहरू, आन्दोलनमा सहभागी आमनागरिक, जनसमुदाय तथा राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा गरेका छन् ।