मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नुवाकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

शुक्रबार, जेष्ठ १५ २०८३

काठमाडौँ । काठमाडौँ जाने क्रममा नुवाकोटमा बिहीबार साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार छहरे–टोखा सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–६ गुर्जेभञ्याङमा भएको दुर्घटनामा गम्भीर घाइते भएका सिराहा सुखीपुर–२ निवासी ३५ वर्षीय सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो। उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल पुर्‍याइएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीले साथमा रहेको सवारी चालक अनुमतिपत्रका आधारमा उनको सनाखत गरेको जनाएको छ।

दुर्घटनामा घाइते भएका सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ४० वर्षीय उत्सव पोखरेल र काठमाडौँ महानगरपालिका–९ गौरीघाटका ४४ वर्षीय लोकेश मिश्रको ग्राण्डी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।

प्रहरीका अनुसार ढिकुरेबाट काठमाडौँतर्फ जाँदै गरेको बिएई ०५६९ नम्बरको विद्युतीय कार गुर्जेभञ्याङ नजिक अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा अँध्यारो तथा जङ्गली क्षेत्रका बाबजुद तत्काल उद्धार गरी घाइतेलाई काठमाडौँ पठाइएको थियो।