मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

महाकाली नदीमा सेनाको विपद् अभ्यास

बिहिबार, जेष्ठ १४ २०८३

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा नेपाली सेनाको अगुवाइमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ सम्पन्न गरिएको छ ।

नेपाली सेनाको बराहदल गुल्म, भगतपुर ब्यारेकको आयोजनामा गरिएको उक्त नमूना अभ्यासमा बाढी तथा प्राकृतिक विपद्का बेला गरिने उद्धार र क्षति न्यूनीकरणका उपायहरू प्रदर्शन गरिएको हो । अभ्यास स्थानीय बासिन्दालाई लक्षित गर्दै विपद् सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको जनाइएको छ ।

बराहदल गुल्मका गुल्मपति सेनानी अशोक शाहीले विपद्को समयमा उद्धार तथा व्यवस्थापनबारे जनचेतना फैलाउने उद्देश्यले अभ्यास गरिएको बताए । उनका अनुसार महाकाली नदी क्षेत्रमा सम्भावित बाढी तथा अन्य प्राकृतिक विपद् व्यवस्थापनका लागि नेपाली सेना आवश्यक उपकरणसहित तयारी अवस्थामा रहने गरेको छ ।

अभ्यासमा नेपाली सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले सहभागिता जनाउँदै उद्धार प्रक्रिया र समन्वयात्मक कार्यशैली प्रदर्शन गरेका थिए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले महाकाली नदी किनार क्षेत्र बाढी जोखिमयुक्त भएकाले वर्षायाममा विशेष सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरे । उनले नदीमा पौडी खेल्ने वा जोखिमपूर्ण गतिविधि गर्दा ज्यानसमेत गुमाउनुपरेका घटना दोहोरिन सक्ने भएकाले सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइराला, श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विजितराज रेग्मीलगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

यसैगरी, अभ्यासमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) लगायतका गैरसरकारी संस्थाको समेत सहकार्य रहेको जनाइएको छ ।