काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको एकताले राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै आपसी भाइचारा, समानता र सद्भावको सन्देश प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मुस्लिम समुदायको महान् पर्व इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरेका हुन् । नले यस पर्वले मातृभूमिप्रतिको आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउँदै राष्ट्रिय विकास र समृद्धिमा योगदान पुर्याउने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले मुस्लिम समुदायले यस पर्वका अवसरमा आपसी रिस, राग र द्वेष बिर्सेर खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गर्ने परम्पराले सामाजिक एकता बलियो बनाउने बताए। साथै खुला स्थल, इदगाह तथा मस्जिदमा गई सामूहिक नमाज अदा गर्दै हर्षोल्लासका साथ पर्व मनाइने प्रचलनले धार्मिक सहिष्णुता र सांस्कृतिक सद्भावलाई थप मजबुत बनाउने उनको भनाइ छ ।
उनले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोकेका यस्ता चाडपर्वले विभिन्न स्थानमा रहेका नेपालीबीच धार्मिक तथा सांस्कृतिक विविधताका आधारमा आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
राष्ट्रपति पौडेलले सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व तथा सहअस्तित्वका आधारमा मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा समेत यस पर्वले टेवा पुग्ने अपेक्षा व्यक्त गरेक छन् ।
शुभकामना सन्देशमा उनले इद–उल–अज्हाले सबै नेपालीबीच प्रेम, करुणा, त्याग, सहिष्णुता र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाउँदै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेक छन् ।