बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

इन्धन अभाव र मूल्यवृद्धिका कारण मुग्लिन–पोखरा सडक विस्तारमा ढिलाइ

बिहिबार, जेष्ठ १४ २०८३

कास्की, १४ जेठ । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्ड निर्धारित समयभित्र सम्पन्न नहुने देखिएको आयोजनाले जनाएको छ ।

तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म फैलिएको ३८ दशमलव ७१ किलोमिटर सडकखण्डमा निर्माण कार्य सुस्त बनेपछि आगामी असार १५ भित्र काम सकिने सम्भावना कमजोर भएको हो । आयोजना पाँच वर्षअघि सुरु भए पनि पटक–पटक म्याद थप हुँदासमेत पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।

आयोजनाले पेट्रोलियम पदार्थको अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि तथा लगातारको वर्षाका कारण निर्माण प्रभावित बनेको जनाएको छ । मूल्यवृद्धिका कारण निर्माण कम्पनीले अत्यावश्यकबाहेकका अन्य कामलाई अपेक्षित गति दिन नसकेको बताइएको छ ।

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख कृष्णबहादुर कुँवरले हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको जानकारी दिए । उनका अनुसार पहिलो तहको कालोपत्रे ३८ किलोमिटर र दोस्रो तहको कालोपत्रे ३७ दशमलव २८ किलोमिटर सम्पन्न भइसकेको छ ।

उनले आयोजनाअन्तर्गत २० दशमलव ५५ किलोमिटर चार लेन सडक तथा १८ दशमलव १६ किलोमिटर चार लेनसहित सर्भिस लेन निर्माण गर्न बाँकी रहेको बताए ।

योजना प्रमुख कुँवरले इन्धन अभावले निर्माण कार्यमा प्रत्यक्ष असर परेको बताए । उनले निर्माण कम्पनीलाई दैनिक चार हजार लिटर डिजेल आवश्यक पर्ने भए पनि हाल एक हजार ५०० लिटर मात्र उपलब्ध भइरहेको जानकारी दिनुभयो । निर्माण सामग्रीको मूल्य अत्यधिक बढेकाले पनि काम प्रभावित भएको उनको भनाइ छ ।

योजनाका सूचना अधिकारी अनन्त बरालले कालोपत्रे सम्पन्न भएका क्षेत्रमा सर्भिस लेन निर्माण, सडक मार्किङ, थर्मोप्लास्टिक पेन्ट तथा ‘डब्लु बिम रोड सेफ्टी ब्यारियर’ जडानको काम भइरहेको बताए ।

एशियाली विकास बैंकको लगानीमा सञ्चालित उक्त आयोजनाको पश्चिम खण्ड निर्माणका लागि चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनसँग रु सात अर्ब ४० करोडमा ठेक्का सम्झौता गरिएको थियो ।

उक्त खण्डको निर्माण सम्झौता विसं २०७८ जेठ २ गते गरिएको थियो भने २०७८ भदौ १२ गतेदेखि निर्माण कार्य सुरु भएको थियो ।