काठमाडौँ, १४ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको करिब ७० दिनपछि मनाइने बकर इदका अवसरमा मुस्लिम समुदायका मानिसले बिहानै स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।
काठमाडौँको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद तथा इदगाहमा आज बिहानैदेखि श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको छ ।
मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीका अनुसार हिजरी संवत्अनुसार करिब १४३९ वर्षअघि अल्लाहको आदेश पालना गर्दै इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको घटनाको सम्झनामा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।
मुस्लिम धर्मगुरु मौलाना रहमत अलीले इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा जन्मिएका मोहम्मद सलल्लाले यस धार्मिक परम्परालाई निरन्तरता दिँदै हदिस नामक धार्मिक ग्रन्थको रचना गरेको बताउनुभयो । उक्त ग्रन्थ अहिले पनि मदरसाहरूमा अध्ययन अध्यापन गराइने गरिएको उहाँको भनाइ छ ।
उनका अनुसार मोहम्मद सलल्ला ५३ वर्षको उमेरपछि मदिनातर्फ बसाइँ सरेका थिए । यही ऐतिहासिक स्मृतिका कारण साउदी अरबका मक्का र मदिना मुस्लिम समुदायका प्रमुख तीर्थस्थलका रूपमा स्थापित भएका छन्, जहाँ हरेक वर्ष ठूलो सङ्ख्यामा श्रद्धालु पुग्ने गर्छन् ।
बकर इदको मुख्य उद्देश्य हजयात्रा मानिने धार्मिक विश्वास छ । मक्का–मदिना पुग्न नसक्ने श्रद्धालुले भने घरमै पर्व मनाउने गर्छन् । यस अवसरमा मुस्लिम धर्मावलम्बीले अल्लाहप्रति समर्पण भाव व्यक्त गर्दै धार्मिक रूपमा मान्य जनावरको कुर्बानी दिने परम्परा निर्वाह गर्छन् ।
धार्मिक मान्यताअनुसार अल्लाहले इब्राहिमलाई आफ्ना प्रिय पुत्र इस्माइलको कुर्बानी दिन आदेश दिएका थिए । इब्राहिमले आदेश पालन गर्न तयार भएपछि अल्लाह प्रसन्न भई इस्माइलको सट्टा स्वर्गबाट ल्याइएको दुम्बाको बलि भएको विश्वास गरिन्छ । यही घटनाको स्मरणस्वरूप कुर्बानी दिने चलन कायम रहेको मुस्लिम समुदाय बताउँछ ।
परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडिन्छ । एक भाग गरिब तथा विपन्नलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र बाँकी भाग परिवारका लागि राख्ने धार्मिक प्रचलन रहेको छ ।
मुस्लिम समुदायले शनिबारसम्म तीन दिन यो पर्व मनाउने जनाएको छ । नेपाली जामे मस्जिदका अनुसार तीनै दिन कुर्बानी दिने धार्मिक विधि रहेको छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।