मोरङ । कोशी प्रदेशमा तीन दिनसम्म गणतन्त्र दिवस मनाइने भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते विविध कार्यक्रमसहित दिवस भव्य रूपमा मनाउने निर्णय गरेको हो ।
निर्णयअनुसार जेठ १४ गते प्रदेशका मन्त्रालयहरूमा सचिवहरूको नेतृत्वमा, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरूको नेतृत्वमा तथा अन्य सरकारी कार्यालयमा कार्यालय प्रमुखहरूको नेतृत्वमा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ । सोही दिन साँझ दीपावली पनि गरिने कार्यक्रम तय गरिएको छ ।
यस्तै, जेठ १५ गते जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रभातफेरि निकालिनेछ । मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने तथा साँझ दीपावली गरिने कार्यक्रम रहेको छ ।
त्यसैगरी, जेठ १६ गते प्रदेश स्वास्थ्य मन्त्रालयको अगुवाइमा अस्पतालका बिरामीलाई फलफूल वितरण गरिनेछ भने सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमका आश्रितलाई फलफूल वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।
मूल समारोह समितिले जेठ १५ गते आयोजना हुने कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक पहिचान झल्कने झाँकीसहित सहभागी हुन आग्रह गरेको छ ।
दिवस व्यवस्थापनका लागि इन्द्रमणि पराजुलीको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको जनाइएको छ ।