काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राजदूतहरूसँग एक्लाएक्लै भेट्ने परम्परागत कूटनीतिक अभ्यासलाई परिवर्तन गर्दै सामूहिक संवादको शैलीलाई निरन्तरता दिएका छन्।
यसैक्रममा उनले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा युरोपेली युनियनसहित २३ जना कूटनीतिज्ञसँग सामूहिक भेटवार्ता गरे ।
परराष्ट्र मन्त्रालयको समन्वयमा मर्यादाक्रमअनुसार बैठक व्यवस्थापन गरिएको उक्त भेट प्रधानमन्त्री शाहको दोस्रो सामूहिक कूटनीतिक संवाद भएको जनाइएको छ ।
भेटमा जर्मनी, फ्रान्स, बेल्जियम, बुल्गेरिया, साइप्रस, अस्ट्रिया, डेनमार्क, फिनल्याण्ड, इटाली, नेदरल्याण्ड्स, पोर्चुगल र स्पेनलगायत युरोपेली मुलुकका राजदूत तथा डेपुटी चिफ अफ मिसनहरूको सहभागिता रहेको थियो । काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली युनियनका प्रतिनिधिहरू पनि बैठकमा सहभागी थिए ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन, समावेशी आर्थिक विकास र राजनीतिक स्थिरताका लागि स्पष्ट जनादेश दिएको बताएका थिए । उनले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पारे।
भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाली नागरिकको जीवनस्तरमा देखिने गरी सुधार ल्याउनु वर्तमान सरकारको मुख्य प्राथमिकता रहेको बताए । उनले लोकतान्त्रिक मूल्यको संरक्षण, राजनीतिक स्थिरता तथा स्पष्ट र अनुमानयोग्य नीतिगत वातावरण कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
“नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन । नेपालमा नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ,” प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै उनकाे सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले सरकारलाई सुम्पिएको जिम्मेवारी गम्भीर रहेको उल्लेख गर्दै वर्तमान समयको आवश्यकता र जनअपेक्षाअनुसार सरकार अघि बढिरहेको धारणा राखेका थिए ।