काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न तथा हिमाली वातावरण संरक्षणमा साझा पहल गर्न सरोकारवालासमक्ष आग्रह गरेका छन् ।
मे २९ मा मनाइने अन्तर्राष्ट्रिय सगरमाथा दिवसको पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र नभई राष्ट्रको गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गरेका हुन्।
उनले सगरमाथाको संरक्षण, संवर्द्धन र सन्तुलित उपयोगमार्फत पर्यटन क्षेत्रको विकाससँगै मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्ने धारणा व्यक्त गरे। साथै, सगरमाथासहित हिमाली क्षेत्रका बहुआयामिक विषयमा अन्तर्राष्ट्रिय सहकार्य र संवाद बढाउन यस्ता सम्मेलन महत्वपूर्ण हुने बताए
राष्ट्रपति पौडेलले विश्वव्यापी तापक्रम वृद्धि, जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन अहिलेका प्रमुख चुनौती बनेको उल्लेख गर्दै हिमाली क्षेत्रको वातावरण र जैविक विविधता संरक्षणमा थप प्रयास आवश्यक रहेको बताए ।
उनले पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको धारणा राख्दै दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको प्रमुख आवश्यकता भएको उल्लेख गरे ।
सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेपछि नेपालको पर्वतीय पर्यटनले विश्वव्यापी पहिचान पाएको स्मरण गर्दै राष्ट्रपतिले कीर्तिमानी आरोही तथा शेर्पा समुदायको योगदानप्रति सम्मान व्यक्त गरे ।