मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

सङ्घीय संसद्का दुवै सदन आज बस्दै, आर्थिक सर्वेक्षण प्रस्तुत हुने

बुधबार, जेष्ठ १३ २०८३

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ सम्बन्धी सन्देशसहित प्राप्त विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ । साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

यता राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । साथै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत उनले प्रस्तुत गर्ने कार्यसूची रहेको जनाइएको छ ।