काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाएका छन् ।
काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गोलाप्रथामार्फत पेसी तोक्ने व्यवस्था हटाएर प्रधानन्यायाधीश स्वयंले पेसी तोक्ने प्रणाली लागू गरिए न्यायपालिका राजनीतिक प्रभावतर्फ धकेलिने चेतावनी दिए ।
उनले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाइए सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै उनले संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्त गर्ने अभ्यास सुरु भएको टिप्पणी गरे ।
उनले अहिले प्रधानन्यायाधीश बन्न त्याग र तपस्याभन्दा पनि राजनीतिक पहुँच महत्त्वपूर्ण बन्न थालेको संकेत देखिएको भन्दै यस्तो प्रवृत्तिलाई स्वीकार गर्ने वा हटाउने भन्ने विषयमा बहस आवश्यक रहेको बताए ।
अध्यक्ष मिश्रले सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को आरोप लगाएर हजारौं मानिस परिचालन गर्ने प्रवृत्ति बढेको आरोपसमेत लगाए । उनले यस्तो अवस्थामा कानून व्यवसायीहरूले विवेक गुमाउन नहुने र न्यायालय तथा न्यायाधीशलाई बलियो बनाउने जिम्मेवारी वकिलहरूमाथि रहेको उल्लेख गरे ।
उनका अनुसार न्यायपालिका अहिले गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ र यस समयमा कानून व्यवसायीहरूको भूमिका अझ महत्वपूर्ण बनेको छ ।