काठमाडौं । आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले समारोहमा राष्ट्रपतिबाट सम्बोधन गराउने प्रस्तावसहित राष्ट्रपति कार्यालय लाई पत्राचार गरेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकबाटै यस विषयमा राष्ट्रपतिलाई पत्र पठाउने निर्णय भएको थियो । त्यसअनुसार मुख्य सचिव सुमनराज अर्याल ले शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा पत्र बुझाएका हुन् ।
प्रधानमन्त्री कार्यालयले अनौपचारिक रूपमा पनि राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गरिरहेको बताइएको छ । गणतन्त्रको प्रतीक राष्ट्रपतिनै भएकाले गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिबाट सम्बोधन हुनु उपयुक्त हुने तर्क प्रधानमन्त्री कार्यालयको रहेको स्रोतको भनाइ छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य ले प्रधानमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि बालेन्द्र शाहले गणतन्त्र दिवसको विशेष समारोह बहिष्कार गर्दै आएका थिए ।