मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

एमाले केन्द्रीय सदस्यको कार्यविभाजन टुंग्याउने जिम्मा ओली र पोखरेललाई

सोमबार, जेष्ठ ११ २०८३

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय सदस्यहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई दिएको छ ।

भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओली निवासमा सम्पन्न सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तह केन्द्रित तथा जनसंगठन इञ्चार्जको जिम्मेवारी दिने प्रस्तावमाथि छलफल गरेको थियो । बैठकमा आएका सुझावलाई समेटेर महासचिव पोखरेलले आवश्यक परिमार्जन गर्ने र अध्यक्ष ओलीले अन्तिम रूप दिएपछि सर्कुलर पठाइने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

तीन दिनसम्म चलेको बैठकको अन्तिम दिन अध्यक्ष ओलीले पार्टीभित्र एकता कायम राख्न नेताहरूलाई आग्रह गरेका थिए ।

बैठकले पार्टी पुनर्गठन तथा प्रतिनिधिसभा निर्वाचनको समीक्षासम्बन्धी विषयमा अध्ययन गर्न उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ ।

कार्यदलमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविराज विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल तथा आठवटै प्रदेशका इञ्चार्ज रहने निर्णय गरिएको छ । कार्यदललाई एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त बनेको पार्टी कार्यालय भवनको सट्टा मदननगर बल्खुस्थित आफ्नै जग्गामा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय पनि सचिवालय बैठकले गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठक आगामी असार दोस्रो साता बस्ने तय भएको छ ।