मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा

बुधबार, जेष्ठ ६ २०८३

काठमाडौं । सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन्। सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश मल्लले नव नियुक्त प्रधानन्यायाधीश मनोशकुमार शर्मा नियुक्त भएपछि बिदा लिएकी हुन्।

सर्वोच्च अदालतका प्रवक्ता एवं सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइराला ले मल्ल २० दिनका लागि बिदामा बसेको जानकारी दिएका छन्।

‘उहाँ हिजो आफैंले २० दिनका लागि बिदा स्वीकृत गराएर जानुभएको छ,’ कोइरालाले भने।

सर्वोच्च अदालतमा न्यायाधीश बिदामा बस्नका लागि प्रधानन्यायाधीशसमक्ष स्वीकृतिका लागि निवेदन पेश गर्नुपर्ने व्यवस्था छ। तर, शर्माले प्रधानन्यायाधीशको रूपमा पदभार ग्रहण गर्नुअघि मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिरहेका बेला आफ्नै बिदा स्वीकृत गराएकी थिइन्।

सर्वोच्च अदालतको वरीयताक्रममा पहिलो नम्बरमा रहेकी मल्ल, दोस्रो नम्बरमा रहेका कुमार रेग्मी र तेस्रो नम्बरमा रहेका हरिप्रसाद फुयाल लाई पन्छाउँदै चौथो वरीयताका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेपछि असन्तुष्टि देखिएको थियो।

मंगलबारसम्म कायममुकायम प्रधानन्यायाधीशको भूमिका निर्वाह गरेकी मल्ल, शर्माले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएपछि सर्वोच्च अदालतमा आयोजित स्वागत कार्यक्रममा पनि उपस्थित भइनन्। उक्त कार्यक्रममा न्यायाधीश कुमार रेग्मीले शर्मालाई स्वागत गरेका थिए।