काठमाडौँ । जेन-जी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य राष्ट्रिय स्वतन्त्र पार्टी का कृष्णकुमार कार्की (मोरङ–२) लाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
उक्त समूहले भदौ २४, २०८२ मा सिंहदरबार तथा संसद् भवनमा भएको आगजनी र तोडफोड घटनामा कार्की प्रत्यक्ष रूपमा संलग्न रहेको आरोप लगाएको हो।
आरोपबारे सार्वजनिक गरिएको वक्तव्यमा जेन-जी मुभमेन्ट नेपालले घटनामा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गरी दोषी ठहर भए कडा कानुनी कारबाही गर्नुपर्ने मागसमेत गरेको छ।
यस विषयमा सम्बन्धित पक्ष वा सांसद कार्कीको तर्फबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
जेन-जी मुभमेन्टले विज्ञप्तिमा भनेको छ, ‘सांसद कार्कीमाथि एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपसमेत सार्वजनिक रुपमा उठिरहेको छ । यो विषयमा निष्पक्ष अनुसन्धान गरी पीडितलाई न्याय सुनिश्चित गरियोस् ।’
विज्ञप्तिमा थप भनिएको छ, ‘राज्यको प्रमुख प्रशासनिक तथा संसदीय संरचनामाथि गरिएको हमला सामान्य राजनीतिक गतिविधि नभई गम्भीर फौजदारी अपराध हो । यस्तो कार्यमा संलग्न जनप्रतिनिधिलाई पक्राउ गरी कानून बमोजिम कारबाही होस् ।’
नाइजेरियन युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको विषयले सांसद कार्कीको आचरणमा प्रश्न उठाएको भन्दै सदनमा सभामुखले पटक-पटक नाम बोलाउँदा पनि अनुपस्थित रहनुले उनको संसदीय जिम्मेवारी र नैतिकतामाथि थप प्रश्न उठाएको मुभमेन्टको भनाइ छ ।