काठमाडौं । प्रतिनिधिसभा सांसद निनुकुमारी कर्णले रास्वपाका सांसद कृष्णकुमार कार्कीमाथि लागेका आरोपबारे संसद्लाई स्पष्ट जानकारी गराउन सरकारसँग माग गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले सांसदको नाम नलिई एक नाइजेरियन महिलासँग सम्बन्धित भनिएको घटनाको प्रसङ्ग उठाउँदै सो विषय सार्वजनिक रूपमा गम्भीर रूपमा उठिरहेको बताइन् ।
उनका अनुसार, उक्त महिलाले आफू गर्भवती भएको अवस्थामा सम्बन्धित व्यक्ति सम्पर्कविहीन भएको भन्दै न्यायको खोजी गरिरहेको दाबी गरिएको छ ।
सांसद कर्णले यस्तो अवस्थाले गम्भीर प्रश्न उठाएको भन्दै भनिन्, “पीडित महिलाले न्याय पाउनुपर्छ, दोषी भए कानुनअनुसार कारबाही हुनुपर्छ । सरकारसँग यस विषयमा यथाशीघ्र संसद्लाई जानकारी गराउन माग गर्दछु ।”
उनले जनप्रतिनिधिको भूमिकामाथि उठ्ने यस्ता प्रश्नहरू संवेदनशील भएको उल्लेख गर्दै सरकारले आवश्यक छानबिन र स्पष्टता दिनुपर्ने धारणा राखिन् ।