काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइका लागि बसेको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
सिंहदरबारमा बसेको उक्त बैठकमा विपक्षी दलका सांसदहरूले तीव्र विरोध जनाउँदै समय माग गरे पनि आजैका लागि नयाँ कार्यतालिका तय गर्दै पहिलो सत्र सम्पन्न गरिएको हो ।
नयाँ कार्यतालिका अनुसार समितिले बिहान १०:१५ बजेबाट उजुरीकर्तासँग प्रत्यक्ष छलफल सुरु गर्ने भएको छ । डा. शर्माविरुद्ध दर्ता भएका १६ वटा उजुरीका सम्बन्धमा उजुरीकर्ताका गुनासा र धारणा सुन्ने कार्यक्रम तय गरिएको छ ।
त्यसपछि उजुरीकर्तासँगको छलफल सकिएलगत्तै आजै दिउँसो १:३० बजे प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालाई सुनुवाइका लागि आमन्त्रण गरिएको छ । सो क्रममा उनले आफ्नो ६ वर्षे कार्यकालको कार्ययोजना प्रस्तुत गर्नेछन् भने सांसदहरूले उनलाई प्रश्नोत्तर गर्नेछन् ।
यसअघि बैठकमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले उजुरी तथा कार्ययोजनाको अध्ययनका लागि पर्याप्त समय नभएको भन्दै आजको सुनुवाइ प्रक्रिया स्थगित गरी भोलिका लागि सार्न माग गरेका थिए । तर, समितिले उजुरीकर्ता र प्रस्तावित प्रधानन्यायाधीश दुवैको सुनुवाइ प्रक्रिया आजै अघि बढाउने निर्णय गरेको हो ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने कानुनी व्यवस्था रहेको छ ।