मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

नेपाल बारले सर्वोच्च अदालत प्रशासनको अवज्ञाप्रति ‘लालटिन’ बालेर प्रदर्शन

मंगलबार, जेष्ठ ५ २०८३

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेशको अवज्ञा गरेको भन्दै ‘लालटिन’ बालेर विरोध प्रदर्शन गर्ने भएको छ ।

बारले अदालत प्रशासनको स्वेच्छाचारिता र न्याय प्राप्तिको मागसहित आज दिउँसो १:१५ बजे बारको प्राङ्गणमा ‘लालटिन’ बालेर प्रदर्शन गर्ने जनाएको छ । साथै, अदालत प्रशासनको अवरोध र संसद्मा विचाराधीन विषयमा भएको छलफलको विरोधमा विभिन्न आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिएको छ ।

बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनहरूमा संवैधानिक महत्वका विभिन्न रिट निवेदनहरू सर्वोच्च अदालत प्रशासनले दर्ता नगरी फर्काउने (दरपीठ गर्ने) र त्यसविरुद्ध परेका निवेदनहरू समेत लामो समयसम्म दर्ता नगरी न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरिएको उल्लेख गरिएको छ ।

कायममुकायम प्रधानन्यायाधीशले संविधानको धारा १३६, न्याय प्रशासन ऐन २०७३ र सर्वोच्च अदालत नियमावली २०७४ अनुसार दरपीठ गरिएका निवेदनहरू दर्ता गर्न आदेश दिए पनि अदालत प्रशासनले उक्त आदेशको पालना नगरेको बारको आरोप छ । यस्तो कार्यलाई बारले ‘अप्राकृतिक’ र ‘ऐतिहासिक भूल’ भनेको छ ।

यसैगरी, अदालतमा विचाराधीन मुद्दाहरूका विषयमा संसद्मा छलफल भएकोप्रति पनि बारले कडा आपत्ति जनाएको छ ।

संविधानको धारा १०५ अनुसार विचाराधीन मुद्दामा छलफल गर्न निषेध गरिएको स्मरण गराउँदै बारले संसद् बैठकमा भएका यस्ता टिप्पणीहरू संसदीय अभिलेखबाट हटाउन सभामुखसँग माग गरेको छ ।