काभ्रेपलाञ्चोक। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेस अब संविधानको रक्षाका लागि केन्द्रित भएर अघि बढ्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले वर्तमान अवस्थामा कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा गर्नु रहेको बताए ।
उनले वर्तमान समयमा मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्दै महँगीका कारण नागरिकको दैनिक जीवन प्रभावित बनेको धारणा राख्नुभयो । “महँगीले नागरिकको खल्ती र भान्सा दुवै प्रभावित भएको छ,” उनले भने ।
सभापति थापाले बैंकहरूमा पर्याप्त रकम भए पनि लगानी विस्तार हुन नसकेको, व्यवसायीहरू ऋण तिर्न नसक्ने अवस्थामा पुगेको तथा किसानसमेत समस्यामा परेको उल्लेख गर्दै सरकारले अब राजनीतिक विवादभन्दा अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताए।
उनले कांग्रेसभित्र बढ्दो गुटबन्दी र सार्वजनिक विवादप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीको छवि कमजोर बनाउँदै गएको बताए । आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र, लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी अहिले “गुट भत्काउने र पार्टी बनाउने” नीतिअनुसार अघि बढिरहेको बताए । उनले विशेष महाधिवेशनमा सहभागी नभएकालाई पनि समेटेर जिम्मेवारी दिइँदै गएको उल्लेख गर्दै यसलाई पार्टी एकताको सङ्केतका रूपमा लिन आग्रह गरे ।
त्यसैगरी पार्टीका महामन्त्री प्रदीप पौडेल तथा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलगायत नेताहरूले कांग्रेस गरिब तथा निमुखा वर्गको पक्षमा उभिएको पार्टी भएको धारणा राखे ।